लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौं : प्रधानमन्त्री ओली

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौं : प्रधानमन्त्री ओली



ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबिचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् ।

उनले यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट पारे ।

ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देशको हितमा देखिने र सुनिने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

“नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा देखिने र सुनिने गरी हामीले भूमिका खेल्नुपर्छ, हामी सफल हुनेछौं । कसैलाई मन पर्ने नपर्ने विषयभन्दा हाम्रो यथार्थमा हामी लाग्नुपर्छ, लाग्छौं” उनले भने, “आफूलाई जान्नेसुन्ने भन्ने तर देश र जनताको पक्षमा चुइँक्क नबोल्नेहरुसँग हामी सजग रहनुपर्छ । राष्ट्रिय हितको पक्षमा भूमिका खेल्न हामी छाड्दैनौं ।”

विगतको राम्रो पक्षको संरक्षण गर्ने र बाँकी राम्रा काम गर्नमा सरकार सक्रिय रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भने, “पार्टीलाई एकताबद्ध भएर देश र जनताको पक्षमा काम गर्न म आह्वान गर्दछु । आउने २०८४ मा हुने निर्वाचनमा एमालेलाई बहुमतसहितको ठुलो पार्टी बनाउनुपर्छ । जनताले त्यसमा सहयोग गर्नुहुनेछ ।”

“हामीले राष्ट्रको पक्षमा बोल्दा र काम गर्दा विरोधीहरुको छात्ती भटभट पोल्दो रै’छ, अनि घटघट पानी खान थाल्छन्, उहाँहरुलाई जति छटपटी भए पनि हामी देश र जनताको पक्षमा काम गर्न छाड्दैनौं” उनले थपे, “अहिलेको सरकार बिल्कुल सजग छ । देशको पक्षमा हामीले काम गर्दैछौं, विपक्षमा काम गर्दैनौं । हाम्रो अभियानमा जनताको साथ छ ।”

“देश र विदेशले सुन्नेगरी भन्छु देशको विरुद्ध हामी काम गर्दैनौं । मानवताको समग्र हितको विरुद्ध कुनै क्रियाकलाप गर्नेछैनौं । हामीले नेतृत्व गरेको यो सरकारले त्यस्तो चिन्तन पनि गर्दैन” उनले थपे ।