रुसी अर्थतन्त्र ‘पतन’ गर्न अमेरिका र युरोपको सहकार्य आवश्यक : बेस्सेन्ट

रुसी अर्थतन्त्र ‘पतन’ गर्न अमेरिका र युरोपको सहकार्य आवश्यक : बेस्सेन्ट



वासिङ्टन । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले युरोपेली सहयोगीहरूलाई रुसको अर्थतन्त्रलाई ‘पतन’ गराउन सहयोग गर्न आग्रह गरेका छन् ।

एनबीसी न्युजसँगको कुराकानीमा उनले युक्रेनमा रुसको युद्ध अहिले युक्रेनी सेना कति समय टिक्न सक्छ र रुसी अर्थतन्त्र कति समय टिक्न सक्छ भन्ने ‘दौड’ बनेको बताएका हुन् ।

बेस्सेन्टका अनुसार, रुसी तेल खरिद गर्ने राष्ट्रहरूमाथि थप प्रतिबन्ध र सहायक शुल्क लगाउँदा रुसको अर्थतन्त्र ‘पूर्ण रूपमा ध्वस्त’ हुनेछ र यसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताको टेबलमा आउन बाध्य पार्नेछ । उनले वासिङ्टन रुसमाथि दबाब बढाउन तयार भए पनि यसका लागि युरोपेली साझेदारहरूको साथ आवश्यक रहेकोमा जोड दिए ।

यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतमाथि रुसी तेल खरिदका कारण ५० प्रतिशतको भारी शुल्क लगाएको एक महिनापछि आएको हो । यो शुल्क वासिङ्टनले कुनै पनि देशमाथि लगाएको सबैभन्दा ठुलोमध्ये एक हो ।

बेस्सेन्टको यो भनाइ आउनु केही घण्टाअघि मात्र रुसले सन् २०२२ मा आक्रमण सुरु भएयताकै सबैभन्दा ठुलो हवाई हमला गरेको थियो । यस आक्रमणमा कम्तीमा चार जनाको ज्यान गएको थियो र किएभको एक सरकारी भवनमा आगलागी भएको थियो ।

युक्रेनका लागि अमेरिकी दूत किथ केलोगले रुसको यो कदमले युद्धलाई कूटनीतिक रूपमा अन्त्य गर्न खोजेको संकेत नभएको भन्दै यसको निन्दा गरेका छन् ।