काठमाडौं । प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ भक्तपुरकाे बालकोटतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका एक अधिकृतका अनुसार एउटा जुलुस टोली काठमाडौंबाट बालकोटतिर लागेको सूचना प्राप्त हुनासाथ मनोहरास्थित काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा तैनाथ प्रहरी टोलीले उनीहरूलाई त्यहीँबाट फिर्ता पठाएको हो ।
डेढ–दुई सयको संख्यामा उनीहरू थिए । उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका थिए ।
काठमाडौंको नयाँ बानेश्वरमा कर्फ्यु लागेपछि प्रदर्शनकारी अन्य स्थानमा छरिएका छन् ।
त्यसैगरी, सत्तारूढ नेकपा एमालेको पार्टी कार्यालय च्यासलनजिक आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा एमालेको पार्टी कार्यालयनजिक प्रदर्शनकारी पुगेको हो । हाल आन्दोलनकारी एमाले कार्यालय घेर्ने प्रयासमा छ ।
अहिले प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी चलिरहेको छ ।


प्रतिक्रिया