बालुवाटारभित्रै देउवा-ओली नोकझोकपछि सामाजिक सञ्जाल सुचारु

बालुवाटारभित्रै देउवा-ओली नोकझोकपछि सामाजिक सञ्जाल सुचारु


ग्लोब नेपाल
567
Shares

काठमाडौं । बिहीबारबाट बन्द भएको सामाजिक सञ्जालहरु गएरातिदेखि नै चल्न थालेका छन् । दर्ता गर्न अस्वीकार गरेको भन्दै मन्त्रिपरिषदले २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको चर्को विरोध भए पनि सरकार टसमस भएको थिएन ।

सोमबार सामाजिक सञ्जलामाथिको प्रतिबन्ध फुकुवालगायत माग राखी जेनजीले राजधानीसहति देशैभर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीको गोली लागी १९ जनाको ज्यान गएको थियो । सोमबार साँझ बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्ने निर्णय ग-यो । बैठकस्थलबाटै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी सामाजिक सञ्जाल खुलाउन भने ।

ओली त्यतिबेला मन्त्रिपरिषद् बैठकमै थिए । ‘आजैको मन्त्रिपरिषदबाट सामाजिक सञ्जाल खोल्ने निर्णय गर्नुस्’, पदाधिकारीहरुकै अगाडिबाट देउवाले ओलीलाई भनेका थिए ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सभापति देउवाले समेत भनिसकेको स्मरण गराउँदै सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्न ओलीलाई आग्रह गरे । कांग्रेस मन्त्रीहरुले पनि पौडेललाई साथ दिँदै निर्णयबाट पछि हट्न आग्रह गरेका थिए । तर, ओली टसमस भएनन् ।

उनले बन्द नभई सर्वोच्च अदालतको आदेशमा सामाजिक सञ्जाल दर्ता गरी नियमन गर्न खोजिएको जवाफ दिए । मन्त्रिपरिषदले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेन । त्यसपछि कांग्रेस सभापति देउवा ओली भेट्न बालुवाटार गए ।

आफूले गरेको आग्रह अस्वीकार गरेको भन्दै देउवा ओलीसँग झोक्किए । उनले सामाजिक सञ्जाल बन्दको निर्णयमा अडिग रहिरहे नयाँ ढंगले अघि बढ्ने चेतावनी दिएपछि मात्र ओली गले । लगत्तै बन्द रहेका सामाजिक सञ्जाल प्लाटफर्महरु सञ्चालनमा आएका छन् ।