काठमाडौं । गए राति जिल्ला कारागार गौर,पर्वत र मकवानपुरको भीमफेदीबाट कैदी भगाइएको छ । जिल्ला कारागार गौरबाट १ सय ३९ जना कैदी, जिल्ला कारागार पर्वतबाट ३० जना र भीमफेदीबाट २ सय ६० जना कैदी भगाइएको छ ।
रौतहटमा रहेको जिल्ला कारागार गौरबाट मङ्गलवार राति करिब १० जबेको समयमा १३९ जना कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा थुनामा रहेका कैदी हरू फरार भएका हुन् ।
कारागारमा रहेका २०० जना कैदी मध्ये ६१ जना भित्र मात्र रहेको र १३९ जना कैदी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का बताए ।
पर्वत कारागारबाट ३० जना भन्दा बढी कैदी बन्दी भगाइए
आन्दोलनरत समूहले पर्वत कारागारमा भएका कैदी बन्दी भगाएका छन् । आन्दोलनमा आक्रोशित समूहले हिजो साँझ सात बजेको समयमा कारागारमा पसेर ३० जना कैदी बन्दी भगाएका हुन् ।
कारागारमा रहेका ९९ कैदी बन्दी मध्ये ३० जना भागेको प्रहरी स्रोतले जानकारी दिएको छ । आन्दोलनरत समूहले दिउँसो पर्वतमा रहेका नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको कार्यालयमा आगजनी गरेपश्चात् कारागारमा पुगेर कैद बन्दी भगाएका हुन् ।
भीमफेदी कारागारबाट २६० कैदीबन्दी भागे
मकवानपुरको भीमफेदी कारागारबाट गएराति २६० जना कैदीबन्दी भागेका छन्। कारागारका जेलर सुवास पौडेलका अनुसार मध्यरात करिब १२:२५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले ह्याक्सो ब्लेड प्रयोग गरी दुईवटा गेट काटेर भागेका हुन्। भाग्ने क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले करिब २०० राउन्ड हवाई फायर र सात राउन्ड अश्रुग्यास प्रहार गरेका थिए। घटनामा दुई जना कैदी सामान्य घाइते भएका छन्। बिहान करिब २:३० बजेसम्ममा भाग्ने प्रयासमा रहेका अन्य सबै कैदीहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फर्काइएको कारागार प्रशासनले जनाएको छ।


प्रतिक्रिया