काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले अहिले नयाँ चुनौती पूर्ण अवस्थामा पुगेको छ । उनीहरुको आन्दोलनमा पछिल्लो समय राजावादीहरू हाबी हुँदै गएका छन ।
ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न सुरु गरेका छन् ।
जेनजी पुस्ताले स्वतन्त्रता, समानता र उत्तरदायी शासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको भए पनि कतिपय राजाबादी समूहहरूले यो अवसरलाई राजसंस्थाको पुनस्र्थापना र राजाबादी एजेन्डा अघि बढाउन प्रयोग गर्न थालेका छन् ।
राजाबादी पक्षधर ठानिएका संस्थाका प्रतिनिधि समेत यस्तो वार्तामा उपस्थित भएका छन् । उनीहरूले युवाको असन्तुष्टिलाई आफ्नो पक्षमा मोड्ने रणनीति अपनाइरहेका छन् भन्ने आशङ्का जेनजीले व्यक्त गरेका छन् ।
आन्दोलन सुरु भएको केही दिनमै प्रहरीको गोली प्रयोगमा ३५ जना युवाले ज्यान गुमाएपछि आन्दोलन झनै भावनात्मक र संवेदनशील बनेको छ। जेनजीहरुले लोकतन्त्रको पक्षमा उठाएको आवाजलाई कुनै पनि एजेन्डा वा विचारधाराले कब्जा गर्न नपाइने तर्क गरीरहेका छन् ।
यो आन्दोलन सबै नागरिकको स्वतन्त्रताको पक्षमा हो, कुनै संस्थाको पुनस्र्थापना वा सत्ता कब्जा गर्ने साधन होइन भन्ने उनीहरूको भनाई छ । यस कारण उनीहरूले आफ्ना साथीहरूलाई च्याट समूहमै सचेत गराइरहेका छन् ।
‘राजावादीहरू हाबी हुन खोजिरहेका छन्, तर हामीले सचेत रहनुपर्छ, भन्दै उनीहरूले समूहभित्रमै आफ्ना साथीहरूलाई सचेत गराइरहेका छन् ।


प्रतिक्रिया