शीतलनिवासमा तयार भयो सहमतिको रोडम्याप

शीतलनिवासमा तयार भयो सहमतिको रोडम्याप

संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिने, कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले राष्ट्रपतिलाई लिखित आग्रह गर्ने


ग्लोब नेपाल
5.6k
Shares

काठमाडौं । जेनजी आन्दोलनकारीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने गरी भएको सहमति कार्यान्वनमा कामचलाउ प्रधानमन्त्री केपी ओलीको पनि सहभागिता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म कानूनविदसँग शीतलनिवासमा छलफल गरेका थिए ।

त्यस क्रममा सरकार गठन कसरी गर्ने भन्नेबारे विस्तृतमा छलफल भएको थियो । छलफलमा सहभागी एक वरिष्ठ अधिवक्ताका अनुसार संविधानको संरक्षक र पालनकर्ताका हैसियतमा राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने रोडम्यापमा सहमति जुटेको छ ।

‘पहिला खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाउँदा अन्तरिम संविधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टेकेर निकास खोजिएको थियो’, ती अधिवक्ताले भने, ‘संविधानको धारा ६१ (४) मा राष्ट्रपतिलाई संविधानको संरक्षक र पालनाकर्ता भनिएको छ । त्यही व्यवस्थाअन्तर्गत राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने भएको छ ।’

कार्कीलाई प्रधाननमन्त्री नियुक्त गर्नुअघि संसदमा भएको राजनीतिक दल र जेनजीको प्रतिनिधिसँग सहमति गरेर आन्दोलनको भावनाअनुसार कार्कीलाई चुनावी सरकारको प्रमुख नियुक्त गर्न सहमति भएको उनले बताए । उक्त सहमतिका आधारमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसमक्ष कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि लिखित आग्रह गर्ने पनि समझदारी भएको छ । शीतलनिवास श्रोतका अनुसार हाल सैनिक सुरक्षामा रहेका ओलीले त्यसलाई स्वीकार गरेका छन् ।

सहमतिअनुसार कार्की नेतृत्वको सरकारले ६ महिनामा निर्वाचन गराउने छ । ६ महिनामा सम्भव नभए दुई महिना समय थप गर्न सकिने पनि सहमति छ । ‘राजनीतिक दल र जेनजीका प्रतिनिधिको सहमतिमा आन्दोलनको भावनाअनुसार कामचलाउ प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष लिखित आग्रह गर्ने ।

६ महिनाभित्र चुनाव गराएर मुलुकलाई ताजा जनादेशमा लैजाने गरी मोटामोटी गृहकार्य भएको छ’, उनले भने, ‘कमभन्दा कम क्षतिमा निकास खोज्ने विकल्प अहिलेका लागि यही नै हो भनेर हामीले भन्यौं ।’

राष्ट्रपतिसँगको छलफलमा कानूनविदहरु डा. भीमार्जुन आचार्य, विपीन अधिकारी, चन्द्रकान्त मैनाली, ललित बस्नेत, पूर्णमान शाक्य र ओमप्रकाश अर्याल सहभागी थिए । सुरुमा प्रधानसेनापति अकोशराज सिग्देल थिएनन् । तर, छलफल निस्कर्ष नजिकै पुगेका बेला उनी पनि बैठकमा उपस्थित भएका थिए ।

त्यही बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्षसमेत रहेका कामचलाउ प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग छलफल गरेका थिए ।