नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी

नेपाल टेलिकमको ७० हजार वटा रिचार्ज कार्ड चोरी



काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको क्रममा गण्डकी प्रदेशको महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको पाइएको छ ।

नेपाल टेलिकमले आइतबार आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ ।

चोरी भएका कार्डमध्ये सय रुपैयाँ मूल्यका ७० हजार र पाँच सय रुपैयाँ मूल्यका करिब दुई सय कार्ड चोरी भएका छन् । ती कार्डका श्रेणी नम्बर समेत सार्वजनिक गरिएको छ ।

“उक्त श्रेणी नम्बरभित्रका सबै कार्ड चोरी भएकाले प्रयोग नगर्नुहुन अनुरोध गरिन्छ । प्रयोगमा ल्याइएका कार्डले सेवामा समस्या उत्पन्न गराउन सक्छन् ।” सूचनामा भनिएको छ ।

साथै, त्यस्ता कार्ड भेटेमा नजिकैको दूरसञ्चार कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

नेपाल टेलिकमले चोरी भएका कार्ड बिक्री, वितरण तथा प्रयोग भए उपभोक्ताले नोक्सानी भोग्न सक्ने चेतावनी दिएको छ । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र दोषीलाई कानुनी कारबाही गरिने जनाएको छ । थप जानकारीका लागि पोखरा प्रदेश निर्देशनालयको सम्पर्क नम्बर ०६१–५८०२०८० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।