काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएको ३ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेकी छैनन । प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भनिए पनि छुट्टाछुट्टै समूहले भाग खोज्न थालेपछि ढिलाइ भएको हो । उनले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन शुक्रबारदेखि नै परामर्श गरिरहेकी छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएकोमा सुजन गुरुङ समूह विरोधमा उत्रिएको छ । ‘हामी नेपाल अभियान’ का संयोजक सुदन गुरुङले समर्थकसहित गएराति प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको थियो । मन्त्रिपरिषद विस्तारप्रति विरोध जनाउन उनी केही दर्जन समर्थकसहित बालुवाटारको गेटमा पुगेका थिए । उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारबाट थुतेर निकाल्ने सम्मको चेतावनी दिएको थियो ।
तर जेन-जीबाट मन्त्रिपरिषद्मा सहभागी हुनेको नाम टुंगो लाग्न सकेको छैन । जेन-जीभित्र पनि छुट्टा-छुट्टै समूह रहेकाले नाम चयन गर्न समस्या भएको प्रधानमन्त्री कार्की निकट स्रोतको भनाइ छ । भदौ २३ र २४ गतेको प्रदर्शनमा सहभागी जेन-जीहरूका छुट्टा-छुट्टै समूहले मन्त्रिपरिषद्मा आफ्नो सहभागिता खोजेका छन् । तर प्रधानमन्त्री कार्कीले सहमतिमै नाम दिन सुझाव दिनुभएको छ ।
उहाँले जेन-जी बाहेकका अन्य पक्षहरूलाई पनि मन्त्रिपरिषद्मा सहभागी गराउने मनस्थिति बनाउनुभएको छ । त्यसका लागि विभिन्न पक्षसँग छलफल भइरहेको र केही दिनभित्रै टुंगोमा पुग्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया