काठमाडौं । नेपाली कांग्रेसले संविधान दिवस मनाउन सर्कुलर गरेको छ ।
उपसभापति पूर्णबहादुर खड्काका अनुसार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन सर्कुलर गरिएको हो ।
‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले हात-हातमा संविधान लिएर संविधान दिवस मनाउन सर्कुलर गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारहरूसँग उनले भने, ‘अत्यन्त संयमतापूर्वक र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने हाम्रो निर्णय छ ।’
उपसभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा भर्चुअल रूपमा केन्द्रीय कार्यसम्पादन, पदाधिकारी, प्रदेश र जिल्ला सभापति तथा जनसम्पर्क समितिहरूसँग पनि कुराकानी गरिएको बताए ।
कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन सिफारिस गरेकोमा विरोध गर्दै उक्त कदम असंवैधानिक भन्दै आएको छ
उपसभापति खड्काले पार्टीमा विवेकपूर्ण तरिकाले सबै पुस्तालाई समेटेर अघि बढ्ने बताए । उनले थपे, ‘विवेकपूर्ण तरिकाले सबै पुस्तालाई समेटेर अघि बढ्छौँ । यसको लागि गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ । सल्लाह गरेर अघि बढ्छौँ ।’
उनले पार्टी कार्यालय जलेको देख्दा आफूलाई बोल्न पनि गाह्राे भइरहेको बताए । ‘बोल्न पनि गाह्रो अवस्था छ । कृष्णप्रसाद भट्टराईको कार्यकालमा क्रियाशील सदस्यको पैसा, शुभेच्छुकको हजारौँको चन्दा संकलन गरेर बनाएका थियौँ,’ उनले भने, ‘नेपालको नक्सा तानेर जुत्ताले हानेको देखियो । युवाले खरानी पार्न आन्दोलन गरेका थिए र ?’
युवाहरूले सुशासन, भ्रष्टाचारमुक्त समाज र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन आन्दोलन गरे पनि त्यसमा घुसपैठ भएको खड्काको दाबी छ ।।


प्रतिक्रिया