प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध राजावादी र सेना खनिन सुरु

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध राजावादी र सेना खनिन सुरु



काठमाडौं । आन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध राजावादी र नेपाली सेनाको प्रतिनिधि आवाज खनिन सुरु भएको छ । यही संविधानमा टेकेर प्रधानमन्त्री बनेकी कार्कीको नियुक्ति नै गैरसंवैधानिक भएको उनीहरुको भनाइ छ । जेन–जी आन्दोलनमा भएको धनजनको क्षतिको जिम्मा प्रधानमन्त्री कार्कीले लिनुपर्ने उनीहरुले दाबी गरेका छन् ।

राजसंस्था पुनस्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले आगजनीका लागि उकास्ने व्यक्ति प्रधानमन्त्री कार्की भएको र हतियार छोडेर भाग्ने सशस्त्र र जनपद प्रहरीको आईजीपीलाई कारबाही गर्नुपर्ने सेनाका पूर्वरथि प्रेमसिंह बस्नेतले बताएका छन् ।

प्रधानमन्त्री कार्कीले भीडमा बोलेर आगजानीका लागि उकासेको प्रवक्ता नेपालले बताएका छन् । जेन–जीको रगतमा होली खेलेर प्रधानमन्त्री बन्न भागीभागी हिड्ने कार्कीलाई पक्राउ गर्नुपर्छ, नेपालले भने, ‘जेन–जीलाई उस्काउने उहाँ हो, उहाँले नै जेन–जी पुस्तालाई हेप्नु भएको छ, उहाँले जेन–जी पुस्तालाई रगत बगाउन लगाउनुभयो, त्यो रगतको पानीले सत्ताको तिर्खा मेट्नुभएको छ । यस्तो हुनसक्दैन ।’

जेन–जी पुस्ताले यो चुनाव कुनै हालतमा हुन दिन नहुने उनको भनाइ थियो । चुनावका दिन भदौ २४ गते दोहोरिने उनले दाबी गरे । प्रवक्ता नेपालले भने, ‘जेन–जीको माग संविधान निलम्बन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी हो, यही संविधानमा टेकेर प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने भनेका होइनन । जेन–जीको अबको विद्रोहलाई हामी साथ दिनेछौं ।’

उनले भने, प्रदेश खारेज गरेर स्थानीय तहको चुनाव पनि एउटै पटक गर्नुपर्छ । दुई पटक चुनाव गर्नुभनेको भ्रष्टाचार हो, भ्रष्टाचारविरोध आन्दोलनले स्थापित भएकी प्रधानमन्त्री कार्कीले सुरुबाटै भ्रष्टाचार गर्न सुरु गरेकी छन् । समयमाथिको भ्रष्टाचार सबैभन्दा ठूलो भ्रष्टाचार हो ।’

यता, नेपाली सेनाको तर्फबाट अन्तरिम सरकारमा मन्त्री हुने चर्चामा रहेका बस्नेतले भने, जंगी ऐनअनुसार युद्धबाट हतियार फालेर भाग्ने नेतृत्वलाई कोर्टमार्सल गर्नुपर्ने बताएका छन् । सशस्त्र प्रहरीका आईजीपी र जनपथ प्रहरीका आईजीपीलाई युद्धमा हतियार छोडेर भागेको आरोपमा पक्राउ गरेर कोर्टमार्सल गर्नुपर्ने बताएका छन् । प्रहरीले नेतालाई मात्र खुशी पार्न जानेको उनको भनाइ छ ।

सेनाको बन्दुकले एक थोपा रगत ननिकाली आन्दोलनले सहजता प्राप्त गरेको उनको भनाइ थियो । सेना र अन्य सुरक्षा फौजको परिचालन फरक भएकाले विषम परिस्थितिमा सेनाले सहजताको भूमिका निर्वाह गरेको हो, उनले भने, चैत १५ गतेको राजावादी आन्दोलनमा भएको घटनालाई प्रधानमन्त्री केपी ओलीले नजरअन्दाज गर्दा अहिलेको घटना हुन पुगेका हो ।’ त्यो घटनामा नेताहरुले राजालाई धारे हात मात्र लगाए, केहीलाई मुद्दा लगाए, तर प्रहरीबाट भएको गल्तीको कुनै छानबिन भएन, त्यसैको बाइप्रोडक्ट हो– भदौ २४ गतेको घटना, पूर्वरथि बस्नेतले भनेका छन् ।