नेपाली टोलीलाई यूएईले दियो भिसा

नेपाली टोलीलाई यूएईले दियो भिसा



काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ट्वान्टी२० शृंखलामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा स्वीकृत गरेको छ। यसअघि भिसा प्रक्रियामा अवरोध हुँदा भ्रमण अनिश्चित बनेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोलीको भिसा आधिकारिक रूपमा प्राप्त भइसकेको छ र टोली यही असोज ६ गते यूएई प्रस्थान गर्ने छ।

शृंखलाको नाम ‘युनिटी कप’ राखिएको छ र सेप्टेम्बर २७ देखि ३० सम्म शारजाह क्रिकेट रंगशालामा आयोजना हुने तय भएको छ। यस क्रममा नेपाल र वेस्ट इन्डिजबीच तीन वटा ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल खेलिनेछ।

यसअघि असोज २ गते क्यानले टोलीको बिदाइ कार्यक्रम सम्पन्न गरे पनि भिसा समयमै नआउँदा यात्रामा ढिलाइ भएको थियो।