म्याग्दी । शरदयाम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ । मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ ।
अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन् । दसैं-तिहारको बिदामा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। छोटो समयमा नै पुग्न सकिने र मनमोहक प्राकृतिक सौन्दर्यका कारण यो पदमार्ग पर्यटकहरूको रोजाइमा परेको छ ।
यहाँको पदयात्रामा मिस्त्रीखोलाको किनारै किनार यात्रा, अग्ला झरना, मनमोहक हिमश्रृंखला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न पाइन्छ ।
नारच्याङबाट दुई घण्टा गाडीमा हुमखोला पुगेपछि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिनमा फर्कन सकिन्छ । सहरको कोलाहलबाट टाढा शान्त र एकान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तव्य बनेको छ ।
अन्नपूर्ण गाउँपालिकाले पदमार्गको व्यवस्थापन र पूर्वाधार निर्माणमा जोड दिएको छ । यहाँ आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानीको व्यवस्था गरिएको छ । समुद्री सतहबाट ४,१०० मिटरको उचाइमा रहेको आधार शिविरमा खुला संग्रहालय समेत स्थापना गरिएको छ ।
साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्क्याप) को सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण गरिएको छ ।
पदमार्गमा रहेका चिया पसल र क्याम्पिङ स्थलहरूको सञ्चालनले पर्यटकलाई खान, बस्न सहज हुनुका साथै स्थानीय स्तरमा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना भएको छ । ती क्याम्पिङ क्षेत्रमा दैनिक ५० जनासम्म पर्यटक बस्न सक्ने क्षमता रहेको छ ।


प्रतिक्रिया