काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरीमाथि हत्या प्रयास गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई नियन्त्रणमा लिएको हो। उनीमाथि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ।
प्रदर्शनमा सहभागी युवाले महाराजगन्जमा कार्यरत प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको घटना आएको थियो। यस घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीले घटनास्थलका तस्बिर तथा भिडियोको आधारमा अनुसन्धान गर्दै प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कारबाही सुरु गरेको छ।
जेनजीले सामाजिक सञ्जाल निष्क्रियता र भ्रष्टाचारविरुद्ध भदौ २३ गते प्रदर्शन गरेका थिए। सोही प्रदर्शनमा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १९ जना युवा मृत्यु भएको थियो। त्यसपछि भदौ २४ गते देशभर प्रदर्शन बढेको थियो।


प्रतिक्रिया