नेप्से २७.८९ अंकले घट्यो, कारोबार रकममा पनि कमी

नेप्से २७.८९ अंकले घट्यो, कारोबार रकममा पनि कमी



काठमाडौं। बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेर २६५४ अंकमा झरेको छ। कारोबार रकम अघिल्लो दिनको ५ अर्ब २९ करोडबाट घटेर ४ अर्ब १२ करोडमा सीमित भएको छ। दशैंको प्रभावले बजारमा खरिद–बिक्री दुवै कमजोर देखिएको हो।

५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ स्थिर रहे। होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले मात्र बढ्दा अन्य सबै समूह ओरालो लागे। सबैभन्दा धेरै अन्य समूह २.१६ प्रतिशतले घट्यो। बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, निर्जीवन बीमा १.५१ र व्यापार समूह १.६५ प्रतिशतले घटेका छन्।

माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। तर, उन्नति सहकार्य लघुवित्त ५.३८, राप्ती हाइड्रो ४.६३ र बुटवल पावर ४ प्रतिशतले घटे।

आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट रहेका छन्।