जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
जिल्ला पार्टी कार्यालयको अवस्था बुझ्न पूर्वको झापाबाट सप्तरी हुँदै बिहीबार जनकपुरधाम आएका महामन्त्री शर्माले नेपाली कांग्रेस धनुषाको क्षतिग्रस्त पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसलाई बलियो बनाउनमा सबैभन्दा बढी योगदान मधेशले दिएको भन्दै कांग्रेसबाहेकका अन्य दलले पटक पटक सरकारको नेतृत्व गरिसकेकोले अब कांग्रेसले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने शुभेच्छा केन्द्रको रहेको बताए ।
उनले सङ्घीयताको मर्म अनुसार मधेश प्रदेशमा कांग्रेसको प्रदेश कार्य समिति र प्रदेश संसदीय दल रहेको भन्दै सरकारको नेतृत्व लिने नलिने अधिकार प्रदेशलाई रहेको भन्दै सरकारको नेतृत्व लिने गरी प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले अन्य दलसँग छलफल चलाउनुपर्ने बताए । उनले मधेशमा कांग्रेसले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने शुभेच्छा केन्द्रको रहे पनि मधेश प्रदेशका नेता साथीहरूले फरक कुरा राखेमा त्यो निर्णय गर्ने अधिकार प्रदेशलाई नै रहेको बताए ।
एक फरक प्रसङ्गमा महामन्त्री शर्माले जेनजी पुस्ताको भावनालाई समेट्ने गरी नेपाली कांग्रेसले समग्रमा रूपान्तरण हुने बताए । उनले पुस्तान्तरणभन्दा पनि सबैलाई गाँसेर रूपान्तरित कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया