हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध

हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध



कञ्चनपुर । भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ पचुँइको नेपाल–भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडकखण्डको करिब सात सय मिटर सडक आर्थिक वर्ष २०७३/७४ मा ठेक्का भएपनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन् ।

मेयर पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्याउँदै आएको छ ।

सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए ।

उनका अनुसार सडकखण्डको दक्षिणतर्फ ५० मिटरदेखि तीन सय मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएका छन् ।

सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत जानकारी गराइएको मेयर चौधरीको भनाइ छ ।