काठमाडौं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
“वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको भएता पनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ,” विभागले विज्ञप्तिमा भनेको छ ।
विभागले वाग्मती, त्रिशूली, पूर्वी राप्ती, लालवकैया, कमला लगायतका नदीहरुमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जनाएको छ ।
“असोज १९ गते सप्तकोसी नदीले खतरा तह पार गरेको छ र यसका सहयाक नदीहरू मुख्यतया तमोर, सुनकोसी र अरुण नदीहरूमा समेत खतरा तह पार भई घट्दो क्रममा रहेको छ,” विभागको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरै महाभारत उद्गम भई बहने नदीहरुमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको विभागले जनाएको छ ।
“कोसी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटीयक्षेत्र तथा डुबान भइरहने क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा अनुरोध छ,” विभागले भनेको छ ।


प्रतिक्रिया