ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो



काठमाडौं ।  भदौ २३  गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका  मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ  आयोगमा पठाएको छ ।

काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले  त्यहाँ पठाइएको हो । ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो त्यसलाई हामीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहाँ पठायौं’ 

प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर  जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो । मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे । अन्ततः प्रहरीले जाहेरी लिएर दर्ता नगरी त्यसलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठायो ।