काठमाडौं । लगातारको वर्षाका कारण ओखलढुंगा जिल्लामा उत्पन्न भएको विद्युत आपूर्तिको समस्या समाधानका लागि नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालसँग भेट गरी ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा खतिवडाले ओखलढुंगामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध भएको गुनासो बढिरहेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । उनले भने, “कोशी प्रदेश अहिले पूरै प्रभावित छ, ओखलढुंगामा लगातार दुई दिनदेखि बत्ति नआएको गुनासो आएको छ, यो समस्या तत्काल समाधान गर्नुपर्छ।”
नेता खतिवडाले जिल्लामा स्रोत सुनिश्चित भई टेन्डर प्रक्रियामा पुगेका विभिन्न विद्युत परियोजनाहरू वर्षाका कारण रोकिएका बताउँदै ती परियोजनाहरू पुनः सुचारु गर्न निर्देशन दिन आग्रह गरे । उनले थपे, “२० करोडको खिजिदेम्बा परियोजनाको आशय पत्र निस्किने तयारीमा छ, त्यसको स्वीकृति तत्काल दिनुपर्छ।”
उनको आग्रहपछि कार्यकारी निर्देशक सिलवालले तत्काल फोनमार्फत मातहतका निकायलाई निर्देशन दिँदै ओखलढुंगाको विद्युत आपूर्ति समस्या छिट्टै समाधान गर्न आदेश दिएका छन् ।
सो अवसरमा खतिवडाले राष्ट्रिय गौरवको आयोजना ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत परियोजना सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । उनले उक्त आयोजनामा आवश्यक बजेट विनियोजनमा ढिलाइ नगर्न र निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन जोड दिए ।
नेता खतिवडाले विगतका निर्वाचनका बेला ओखलढुंगाका सबै वडामा विद्युतिकरण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, “जनतासँग गरेको वाचा पूरा गर्न निरन्तर पहल गर्दै आएको छु । मेरो प्रयास छ— जिल्लाका प्रत्येक वडामा शीघ्र विद्युतिकरण होस् ।”


प्रतिक्रिया