काठमाडौं । लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र टाइम्स अफ इजरायलले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन् ।
टाइम्स अफ इजरायलको समाचारमा भनिएको छ, ‘इजरायल र हमासबीच जारी युद्धबीच हमासले आज चारजना मृत बन्दीको नाम सार्वजनिक गरेको छ, जसमा एक नेपाली विद्यार्थी बिपिन जोशी पनि छन् । हमासले ती बन्दीहरूको शव आजै रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जनाएको छ ।’
हमासले सार्वजनिक गरेको सूचीमा रहेका चार जना हुन् — गाई इलुज, योसी साराबी, बिपिन जोशी र ड्यानियल पेरेजको नाम समावेश छ । विज्ञप्तिमा शव हस्तान्तरण कहिले हुने हो भन्नेबारे भने स्पष्ट गरिएको छैन ।
बिपिन जोशी नेपालका कृषि विद्यार्थी थिए र उनी अध्ययनका लागि इजरायल गएका थिए ।
अन्य मृतकहरूमध्ये इलुजलाई नोभा संगीत उत्सवबाट अपहरण गरिएको थियो र गाजाको अस्पतालमा उपचार नपाएर उहाँको निधन भएको पुष्टि सन् २०२३ डिसेम्बरमा भएको थियो । ड्यानियल पेरेज (२२) इजरायली सेनाको ७ औं आर्मर्ड ब्रिगेडका पल्टुन कमाण्डर थिए, जसको मृत्यु सन् २०२३ अक्टोबर ७ मा हमाससँगको लडाइँमा भएको थियो ।
त्यस्तै, ५३ वर्षीय योसी साराबीलाई २०२३ अक्टोबर ७ मा आफ्नै घरबाट अपहरण गरिएको थियो र बन्धक अवस्थामा नै उनको हत्या गरिएको थियो ।
इजरायली सेनाका अनुसार रेडक्रसका प्रतिनिधिहरू चारैजनाको शव बुझ्नका लागि दक्षिण गाजातर्फ प्रस्थान गरिरहेका छन् ।
यो घटनाले एक वर्षअघि भएको ७ अक्टोबर २०२३ को हमास आक्रमणपश्चात इजरायल–हमास द्वन्द्वको मानवीय आयाम पुनः सतहमा ल्याएको छ, जसले सयौँको ज्यान लिएको र अझै पनि थुप्रै बन्दीहरूका भाग्य अज्ञात बनाइरहेको छ, इजरायल टाइम्स मा समाचार छ ।
बीबीसीका अनुसार, हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेललाई बुझाउने बताएको छ ।
यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो । इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ । बाँकी २८ जनाको मृत्यु भएको ठानिएको र उनीहरूको शव पनि सोमवारसम्म फिर्ता गरिने हमासले जनाएको छ ।
सोमवार अबेर जोशीसहित चारजना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ ।


प्रतिक्रिया