चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्ति गुञ्ज टोलस्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्तो) भत्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।
आज बिहान करिब ९:५० बजे वाल भत्किएपछि उद्योगमा कार्यरत पाँच जना कामदारहरू घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो।
उपचारका क्रममा मृत्यु हुनेहरूमा —
१. जिल्ला चितवन, खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई,
२. जिल्ला गोरखा स्थायी घर भई हाल रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई, र
३. जिल्ला चितवन, रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङ रहेका छन्।
तीनैजनाको अवस्था गम्भीर रही उपचारका क्रममा क्रमशः बिहान १०:२४ देखि १०:५१ बजेसम्मको बीचमा मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यसैगरी, जिल्ला पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू घाइते भएका छन्। उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालय चितवनले जनाएको छ।


प्रतिक्रिया