जेनजी प्रदर्शनमा एसएलआर लुट्ने युवक पक्राउ

जेनजी प्रदर्शनमा एसएलआर लुट्ने युवक पक्राउ



काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई मंगलबार सुनाकोठीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । परियारले एसएलआर बाेकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो ।

उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताए पनि हतियार बुझाएको प्रमाण भेटिएको छैन ।

परियारको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ । यसअघि उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको छ । ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर मुद्दामा प्रहरीले उनलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरेको थियो ।