चुनाव सफल पार्दै इतिहास रच्न जेनजीलाई राष्ट्रपति पौडेलको आग्रह

चुनाव सफल पार्दै इतिहास रच्न जेनजीलाई राष्ट्रपति पौडेलको आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने चुनावको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा हिजो प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले चुनावलाई अवसरको रूपमा लिनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ चुनावमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने उदेश्यले चुनाव घोषणा भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेका छन् ।

‘चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन् । त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र देशले उन्नति गर्नुपर्छ । युवाहरू बाध्याताले विदेशपलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ’, राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने ।

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान दिने विश्वास व्यक्त गरे ।

उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि र कुशासन तथा भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशीता विरुद्ध नरहेको बताए ।

उनीहरुले आफूहरू सम्पूर्ण रूपले चुनाव सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे । त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आफ्ना मागहरू पूरा हुनुपर्ने उनीहरुको भनाइ थियो ।

छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीहरु र ‘जेनजी’ प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।