एमाले बैठक : बाँकी सदस्य र पदाधिकारीको धारणा सुनेपछि ओलीले जवाफ दिने

एमाले बैठक : बाँकी सदस्य र पदाधिकारीको धारणा सुनेपछि ओलीले जवाफ दिने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । तेस्रो दिन आज पनि बिहान ८ बजेबाट बैठक सुरु हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।

पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।

हालसम्म धारणा राख्ने अधिकांशले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्नु नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्नुपर्ने र नेतृत्व परिवर्तनको मुद्दाको विषयमा धारणा राखेका छन् । केही केन्द्रीय सदस्यले अहिले नेतृत्व परिवर्तनको मुद्दा महाधिवेशनमा उठाउनुपर्ने बताएको छ भने केहीले केन्द्रीय कमिटीको बैठकले नै त्यसको टुङ्गो लगाउनुपर्ने राय राखेका छन् ।

एमालेले नेतृत्व परिवर्तनबारे चलेको बहस महाधिवेशनले नै निष्कर्षमा पुर्‍याउने जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले नेतृत्व परिवर्तनबारे छलफल गर्न आवश्यक नरहेको उल्लेख गरे ।