गगनलाई वीरबहादुरको प्रश्न– अधिवेशन देउवाले रोकेका थिए ?

गगनलाई वीरबहादुरको प्रश्न– अधिवेशन देउवाले रोकेका थिए ?

‘हिजो संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भन्दै प्रश्न गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्दै पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बलायरले एजेन्डा प्रस्तुत गर्दा मङ्सिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ भनेर प्रश्न उठाएका हुन् ।

‘शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए ? कि केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको मिति तय गरेर सारेको थियो ?,’ बलायरले महामन्त्री थापालाई प्रश्न सोध्दै भने ।

उनले मङ्सिरमा महाधिवेशन गर्न महामन्त्री थापालाई कसले रोक्यो भन्दै प्रश्न गरे । ‘महामन्त्रीले यहाँ मङ्सिरमै महाधिवेशन गर्ने भन्नुभयो । गर्नुस् न कसले रोकेको छ ? शेरबहादुरले रोकेको हो ?,’ बलायरले भने– ‘जसको म्याद गुज्रिसकेको छ । उसको हस्ताक्षर ल्याएर म्याद सकिएको कार्यसमितिको विशेष महाधिवेशन गर्ने ? कसले छेक्यो, मङ्सिरमा महाधिवेशन गर्न ?’

सरकारप्रतिका महामन्त्रीको दृष्टिकोणमा पनि उनले प्रश्न उठाए । ‘हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, त्यो सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन ?,’ बलायरले प्रश्न गरे, ‘तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने ?’

उनले अहिले निर्वाचनमा सहभागी हुनुपर्ने भन्ने मत राखिरहेका नेताहरूलाई निर्वाचनको वातावरण बन्नुपर्ने हो कि होइन भन्दै प्रश्न उठाए । उनले सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरणको मूल्यांकनसमेत नगरी चुनावमा भाग लिनुपर्छ भन्नु राजनीतिक अपरिपक्वता भएको उनको बुझाइ थियो ।

‘यो सरकारले अहिलेसम्म राजनीतिक दलसँग वार्तासमेत गर्न सकेको छैन । चुनाव गराउने क्षमता राख्छ कि राख्दैन ? यसले त्यतातिर आफूलाई केन्द्रित गरेको छ कि अन्यत्रै ?,’ बलायरले भने, ‘देशभरि पार्टी कार्यालय जलेका छन् । नेता कार्यकर्ताका घर जलेका छन् । ल भन्नुस् त शेरबहादुरले पदमा बसेका समयमा जाने नजाने गल्ती पनि गर्‍यो रे, हामी सबैले गल्ती गरेका थियौँ ? सबै कार्यकताले गल्ती गरेका थिए र उनीहरूको जीवनभरको कमाइ खरानी भयो ?’