काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘थुन्नका लागि सरकार निरन्तर प्रयासमा रहेको’ बताएका छन् ।
शुक्रबार ललितपुरको जावलाखेलमा दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरेको दाबी गरेका हुन् ।
उनले भने, ‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो । कहीँकतै केही भेटिएन । हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ ।’
जेनजी आन्दोलनले आफूलाई थुन्ने माग नगरेको पनि उनकाे दाबी छ । ‘जेजनीले यो माग गरेका छैनन्, उनीहरू यो दाबी गरिरहेका छन्, हामी दलका विरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्,’ उनले भने ।
उनले पार्टीका नेताहरुले नरम भाषा प्रयोग गर्न आग्रह गरेको पनि बताए । ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, यसमा चिनी थपिदिऊँ ?,’ उनले भने ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन् । उनले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन । म विद्या भण्डारीलाई राम्रै जान्दछु । उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ,’ उनले भने ।
त्यतिबेला आफूले पाँच लाख रूपैयाँ सहयोग उठाइदिन्छु भनेर आग्रह समेत गरेको बताए ।
‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ । कसैले यहाँ ठूलो कुरा नगरौं । म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने ।
पूर्वराष्ट्रपति भण्डारीले नै आफै आएर आफूलाई सघाउनुपर्ने ओलीको जबाफ थियो ।


प्रतिक्रिया