नेपाल अपराजित रहँदै च्याम्पियन

नेपाल अपराजित रहँदै च्याम्पियन



काठमाडौं । सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको च्याम्पियन बनेको छ ।

यसअघि प्रतियोगिताको दुई खेलअगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो ।

नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए ।

बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे ।

आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।