सुन पसलमा छापा, व्यवसायीले प्रतिकार गर्दा १० प्रहरी घाइते

सुन पसलमा छापा, व्यवसायीले प्रतिकार गर्दा १० प्रहरी घाइते


ग्लोब नेपाल
135
Shares

काठमाडौं । जनकपुरधामको सोनारपट्टी क्षेत्रमा नवनिर्मित ज्वेलर्समा प्रहरीले छापा मार्दा झडप भएको छ । शुक्रबार साँझ भएको उक्त झडपमा परी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र १० प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

झडपमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी गम्भीर घाइते भएका छन् भने १० जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुख डिएसपी गणेशबहादुर बमका अनुसार, जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा भर्खरै सञ्चालनमा आएको संजय ठाकुरको ज्वेलर्समा बिलबिजक नभएको अवैध चाँदीको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली राति ८ बजेतिर सिभिल पोसाकमा पुगेको थियो । प्रहरीले अनुसन्धानका क्रममा करिब ७ किलो अवैध चाँदी बरामद गरेको दाबी गरेको छ ।

डिएसपी बमका अनुसार, बरामद चाँदीको मुचुल्का गर्न सुनचाँदी व्यवसायी संघका प्रतिनिधिलाई बोलाइएको थियो । तर, सोही क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहितका व्यवसायीहरू घटनास्थलमा पुगेर प्रहरीलाई चाँदी लैजान नदिने अडान लिए ।

प्रहरीका अनुसार, भण्डारीले ‘पुलिसलाई खेदौं’ भन्दै व्यवसायीहरूलाई उक्साएपछि झडप सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास प्रहार गरेको डिएसपी बमले जानकारी दिए ।