पूर्वराजासहित सर्वपक्षीय छलफल गरेर राजनीतिक निकास निकालाैं : गोपालमान श्रेष्ठ

पूर्वराजासहित सर्वपक्षीय छलफल गरेर राजनीतिक निकास निकालाैं : गोपालमान श्रेष्ठ



काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

श्रेष्ठले ललितपुरको झम्सिखेलमा आइतबार पत्रकार सम्मेलन गरी आइतबार सबै पक्षको सहमति जुटाएर राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् । उनले सरकारले दलहरूलाई निषेध गर्ने नीति सरकारले अपनाएको बताए ।

राजसंस्था, जेनजी आन्दोलनमा सहभागीहरू र फरक मत राख्ने सबै शक्तिको संवाद आवश्यक भएको पनि बताए ।

‘राष्ट्रको समस्या राजनीतिक दलहरू भित्रबाटै समाधान गर्नुपर्छ । निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत् अगाडि बढ्नुपर्छ,’ नेता श्रेष्ठले भने, ‘राजसंस्थालगायत, परम्परागत शक्ति, राजनीतिक दलहरू, जेनजी आन्दोलन र फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक छ ।’

मुलुकको आन्तरिक समस्याको समाधानमा बाह्य हस्तक्षेप हुन नदिन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो । ‘राष्ट्रहित, सार्वभौमसत्ता र राष्ट्रिय चाहनालाई सर्वोपरि राख्दै आन्तरिक संकटको समाधानमा बाह्य हस्तक्षेपबाट मुक्त रहन हामीले सर्वपक्षीय भेला गरेर समाधान निकाल्नका लागि अब ढिलाइ गर्नु हुँदैन,’ श्रेष्ठले भने ।

विपी, गणेशमान र कृष्णप्रसादका अनुयायीका रूपमा आफू दलभन्दा माथि उठेर राष्ट्रिय एकता र सर्वपक्षीय भेलाको आयोजनमा सक्रिय रूपमा लाग्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले कांग्रेससँग आग्रह गरे ।

त्यस्तै श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शङ्का व्यक्त गरे । ‘अहिलेको परिस्थिति जटिल छ । जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ । चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शङ्का उत्पन्न भएको छ’ उनले भने ।