सरकारले नै रुग्ण बनायो ठेक्का : महासंघ अध्यक्ष सिंह

सरकारले नै रुग्ण बनायो ठेक्का : महासंघ अध्यक्ष सिंह


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विकासे मन्त्रालयहरूले रुग्ण आयोजनाका ठेक्का अन्त्य गरिरहेकोमा गम्भीर आपत्ति जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले ठेक्का अन्त्य गर्ने सरकारी कदम सुन्नमा जति कर्णप्रिय लागे पनि त्यसको परिणाम र कारणमा सरकारले ध्यान नदिएको बताएका छन् ।

अध्यक्ष सिंहका अनुसार ठेक्का अन्त्यपछिको परिणामलाई सरकारले हेरेको छैन । उनले रुग्ण ठेक्काको अन्त्य गर्नुअघि त्यसको वास्तविक कारण पहिचान गरिनुपर्नेमा जोड दिए । ठेक्का रुग्ण हुनुमा जिम्मेवार पक्ष को हो, निर्माण कम्पनीको कति दोष छ र सरकारी निकायको भूमिका कस्तो छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष सिंहले भने, ‘सरकारले रुग्ण रहेका ठेक्का अन्त्य गर्दा कारण पहिचान गर्नुपर्‍यो । कारण पहिचान गर्दै गर्दा ती ठेक्कालाई सो अवस्थामा पुर्‍याउन को–को जिम्मेवार छन्, त्यो खुल्नुपर्‍यो । निर्माण कम्पनी कत्तिको जिम्मेवार छ, सरकारका कर्मचारी कत्तिको जिम्मेवार छन् र सरकार स्वयं कत्तिको जिम्मेवार छ, हेक्का राखिनुपर्छ ।’ उनले ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरका योजनाहरूको सम्झौता भए पनि त्यसअनुसार काम गर्नका लागि स्रोतको आधार तयार नभएको बताए । लामो समयदेखि सम्झौता भएका ती योजनाहरूलाई सरकारले आफ्नै कारणले रुग्ण बनाएको उनको आरोप छ ।

सरकारले नै आयोजनाहरूलाई रुग्ण बनाएको भन्दै सिंहले त्यस्तो कार्य गर्नेहरूलाई कारबाही गरिनुपर्ने बताए । पछिल्लो समय सरकारले योजनाहरूमा सम्झौता गर्ने तर पर्याप्त बजेट विनियोजन नगर्दा आयोजनाहरू प्रभावित भइरहेको उनको भनाइ छ ।