काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधिन संघीय संसद भवन तोकिएको समयमा सक्न निर्देशन दिएका छन् ।
संघीय संसद भवनको स्थलगत अनुगमन गरी उनले तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् । २०७६ साल असोजमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौतामा पाँचौ पटक म्याद थपेर आउँदो पुस १६ गतेसम्मको समय बाँकी छ ।
अहिले सिभिल संरचनाको ८७ प्रतिशत र इन्टेरियर तथा सुरक्षा प्रणालीसम्बन्धी दोस्रो प्याकेजको ३० प्रतिशत मात्र प्रगति छ । मन्त्री घिसिङले निर्माण व्यवसायीलाई हरेक दिनको कार्यतालिका बनाएर तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन् ।
उनले संसद भवन राष्ट्रिय महत्वको आयोजना भएकाले नियमित अनुगमन र सार्वजनिक निगरानी आवश्यक रहेको पनि बताए ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले तोकिएको समयमै काम सम्पन्न गर्न मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुने बताएका छन् ।


प्रतिक्रिया