काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा गएराति स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत उडेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएकाले उनीहरूको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, यो नियमित स्वास्थ्य परीक्षण र उपचारको लागि तय भएको भ्रमण हो ।
स्मरण रहोस्, गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा भएको जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको र निवासमा आगजनीसमेत भएको थियो ।
यसअघि, पनि देउवा विभिन्न स्वास्थ्य समस्याका कारण उपचारका लागि विदेश जाने गरेका थिए । यसपटकको सिंगापुर भ्रमणलाई उनीहरूको हालैको स्वास्थ्य समस्यासँग जोडेर हेरिएको छ ।
तस्बिर सुवास कार्कीको सामाजिक सञ्जालबाट लिइएको हो ।


प्रतिक्रिया