नयाँदिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्त्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले यस्तो आह्वान गरेका हुन् ।
उनले भने, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्र र साझेदारहरूलाई निम्तो दिन्छु-नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’
बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्र विषयमा मुख्य/विशेष वक्ताको रूपमा मङ्गलबार सम्बोधन गरेका हुन् ।
मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एशियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतको रूपमा रहेको बताए । नेपालको जलविद्युत् यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्त्वपूर्ण स्रोत रहेको उनले उल्लेख गरे ।


प्रतिक्रिया