देशभरका अदालतमा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्च ‘फुल कोर्ट’ को निर्णय

देशभरका अदालतमा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्च ‘फुल कोर्ट’ को निर्णय



काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठक अर्थात् ‘फूल कोर्ट’ ले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ ।

आज बसेको ‘फूल कोर्ट’ बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते देशभरि भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाबारे जाहेरी दिने तयारी अन्तिम चरणमा पुगेको सर्वोच्च प्रशासनले जनाएको छ ।

क्षति भएका अदालतहरूले आफ्नो क्षेत्रको प्रहरीलाई जाहेरी दिनेछन् । ठूलो समूहमा मानिसहरू संलग्न भएकाले जाहेरीमै व्यक्तिलाई किटान नगरे पनि प्रमाणका रूपमा तस्वीर र भिडियो फुटेजलगायत पेश गरिने सर्वोच्चले जनाएको छ ।

सर्वोच्च अदालतका अनुसार सर्वोच्चसहित देशभरिका २३ वटा अदालतमा क्षति पुगेको छ । भौतिक संरचनामा क्षतिसहित ठूलो सङ्ख्यामा अभिलेख तथा मुद्दाका मिसिलहरू जलेर नष्ट भएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले भने आगजनी तथा तोडफोडमा संलग्न भएकाहरूमाथि कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिइसकेको जानकारी दिएको छ ।