सरकार, दल र जेनजीबिच आज संवाद

सरकार, दल र जेनजीबिच आज संवाद



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छन् । उनकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।

सरकारले निर्वाचनको तयारीका काम अगाडि बढाएको छ । निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको छ ।