फुटको संघारमा नेकपा एस

फुटको संघारमा नेकपा एस


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र नेकपा (माओवादी केन्द्र) सँगको प्रस्तावित एकीकरणलाई लिएर गम्भीर मतभेद चर्किएको छ । अध्यक्ष माधवकुमार नेपाल एकताका लागि अन्तिम तयारीमा रहँदा, पार्टीका वरिष्ठ नेताहरूले यसको औचित्यमाथि प्रश्न उठाउँदै फरक बाटो रोज्ने संकेत दिएका छन् । यसले एकीकृत समाजवादीको आन्तरिक राजनीतिलाई थप जटिल बनाएको छ ।

पार्टीभित्र मुख्यतया दुई धार देखिएका छन् । अध्यक्ष नेपाल र नेता वेदुराम भुसालसहितको एउटा समूह माओवादीसँग एकता गरेर नयाँ पार्टीमा समाहित हुने पक्षमा छ । उता, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्री लगायतको अर्को समूह भने यसको विपक्षमा उभिएका छन् । उनीहरू माओवादीसँगको एकताभन्दा पार्टी पुनर्गठनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा महासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेतृत्व छाडे मात्रै एकताको वातावरण बन्ने बताए । ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता,’ बैठकमा भुसालले भने, ‘नाम र झण्डा मिलाएर प्राविधिक एकता गर्नु अपमानजनक हुन्छ ।’

उनले प्रचण्ड र नेपाललाई जनताले अस्वीकार गरेकाले फरक भूमिकामा जान सुझाव दिए । ‘माधवजी, प्रचण्डजी फरक भूमिकामा जानुस् । तपाईंहरूले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ,’ भुसालले भने, ‘हामी कोही तपाईंहरूभन्दा अब जुनियर होइनौँ । हामीले प्रस्ताव गरेको जनवादी क्रान्ति सकियो, अब समाजवादी क्रान्तिको युग सुरु भयो भन्ने विचार हामीले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको कुरा बृहत्तर स्वीकारोक्ति छ ।’

नेता झलनाथ खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको टिप्पणी गरे । उनले एमाले विभाजनकै औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्न खोजेको भन्दै अध्यक्ष नेपालको राजीनामासमेत माग गरे । ‘एमाले फुटाएर बनाएको पार्टी अब माओवादीमा जान सुहाउँछ ? यो एकताको समय होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने समय हो,’ खनालले भने ।

उनले अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा नेपालले अध्यक्ष पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए । ‘त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । तसर्थ उनले अध्यक्षबाट राजीनामा दिनुपर्छ,’ खनालले भने । उनले पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए केही भन्नु नभएको तर यो एकीकरणको बेला नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला भएको बताए ।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष जगन्नाथ खतिवडा भने एकताको पक्षमा उभिएका छन् । पाण्डेले पार्टी चलाउन कठिन भइरहेको उल्लेख गर्दै अब नचल्ने पार्टीलाई अर्कोलाई बुझाउनैपर्ने अवस्था आएको उनको भनाइ छ । ‘त्यतिकै गरिने एकताले परिणाम ल्याउँदैन, त्यो थाहा छ तर अब आफ्नो पार्टी पनि नचलाउने, एकता पनि नगर्ने भनेर कहाँ पुगिन्छ र ?’ पाण्डेले भने, ‘यसै पनि हाम्रो पार्टी सकिन लागेको छ । पार्टी चलाउन सकिएको छैन । चलाउन नसकेपछि अर्कोलाई बुझाउनैपर्छ ।’ खतिवडाले पनि पार्टी एकता अहिलेको आवश्यकता भएको भन्दै एकताबाट पछि हट्न नहुने धारणा राखे ।

नेता प्रमेश हमालका अनुसार माओवादीसँग एकताको सहमति अन्तिम चरणमा पुगेको छ । सिद्धान्त, संगठन र नेतृत्वबारे सहमति बनिसकेको र एकता भएपछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने सहमति भएको उनले जानकारी दिए । उनले नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ रहने प्रस्ताव गरिएको बताए । एकीकृत समाजवादी एमालेसँग विद्रोह गरेर २०७८ सालमा गठन भएको थियो ।