काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयबीच समझदारी निर्माणका लागि केही समय आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको हो ।
एक केन्द्रीय सदस्यका अनुसार, कार्यवाहक सभापतिसँग कुरा नमिलेपछि महामन्त्रीद्वय बैठक हलमै प्रवेश नगरी बाहिरिएका थिए । त्यसपछि कार्यवाहक सभापतिका तर्फबाट सूचना सुनाउँदै बैठक स्थगित भएको हो ।
महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा महाधिवेशन गर्न भ्याइन्न भन्ने लाग्छ भने पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने कुरा कार्यवाहक सभापति खड्कालाई राखेका थिए । त्यसमा अर्का महामन्त्री थापाले सहमति जनाएका थिए ।
तर आज पनि महाधिवेशन कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने कुरा महामन्त्री थापाले कार्यवाहक सभापति खड्कालाई सुनाएका थिए ।
कार्यवाहक सभापति खड्काले आफू नियमित महाधिवेशन गर्ने पक्षमा रहेको र सबैसँग छलफल गर्न एक दुई दिन समय आवश्यक पर्ने बताएका छन् ।


प्रतिक्रिया