नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्ने झलनाथको घोषणा

नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्ने झलनाथको घोषणा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गरेका हुन् ।

नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाएका छन्। त्यसपछि बैठक हलमा होहल्ला मच्चिएको थियो ।

झलनाथ बैठकमा बोलिछाड्ने अडान लिएपछि नेपाल बैठक सकियो भन्दै हलबाट बाहिरिएका थिए । बैठकमा आफूलाई बोल्न नदिई माइक काटिएको भन्दै उनले नेपालले तानाशाही प्रवृत्ति देखाएको गुनासो गरे । ‘विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ, ‘हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ ।’