काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शीतल निवासको निरीक्षण गरेका छन् । क्षतिग्रस्त संरचना निरीक्षणका लागि गृहमन्त्री अर्याल सोमबार शीतल निवास पुगेका हुन् ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति भवन शीतल निवासको अगाडिको भवनमा आगजनी गरिएको थियो ।
यसैगरी, गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् । प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए । उक्त प्रहरी चौकी पूर्णरूपमा क्षतिग्रस्त बनेको छ ।
त्यस्तै गृहमन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास पनि अवलोकन गरेका छन् । बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् ।
निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे । राष्ट्रका लागि पौडेलको भूमिकाको चर्चा गर्दै उनले उनका निजी सम्पत्तिबारे राज्यले चासो राख्नुपर्ने बताए ।


प्रतिक्रिया