काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहकार्य गर्न सहमत भएका छन् ।
शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको त्रिपक्षीय छलफलमा समग्र राजनीतिक पुनर्गठनका लागि सैद्धान्तिक सहमति भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
तीनवटा विषयमा सहकार्य गर्ने सहमति बनेको उनले बताए । न्यू कम्युनिस्ट सेन्टर निर्माणका लागि सकारात्मकरूपमा अघि बढ्ने, नेपालमा समाजवादको निम्ति पहल गर्ने र जटिल राजनीतिक स्थितिको निकासका लागि सहकार्य गरेर जाने सहमति बनेको प्रकाण्डले बताए ।
विप्लवले बिहीबार काठमाडौंमा आयोजित सभामा अन्तरिम सरकारको औचित्य नरहेको भन्दै सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका थिए ।
माओवादी केन्द्रसहित विभिन्न १० घटकबीच एकताको सहमति बनेपछि जनार्दन शर्माले कात्तिक १८ गते ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका थिए । पार्टी एकताकै लागि नेता माधव कुमार नेपाल अघि बढेपछि घनश्याम भुषालले पनि नेतृत्व परिवर्तन नगरी हुने एकताको औचित्य नरहेको भन्दै असहमति जनाएका थिए ।


प्रतिक्रिया