काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपालीका लागि मतदान गर्न पाउने सम्भावना नरहेको बताए । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।
आयुक्त भण्डारीले भने, ‘सरकारले कानून बनाएर दिए निर्वाचन आयोग कुनै पनि समयमा कार्यान्वयन गर्न तयार छ । यो छोटा अवधिमा कानुन दिएर विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था लागू गर्न तत्काल सम्भव छैन । त्यसैले विदेशमा रहेका मतदाताका लागि मताधिकार सुनिश्चित गर्न तत्कालका लागि कठिन भएको हो ।’
‘नेपाली मतदाताहरु विश्वका १ सय ७० भन्दा बढी मुलुकमा रहेकाले विधेयक ल्याएर मात्रै पनि सम्भव छैन’, उनले भने, ‘ति देशहरुमा रहेका मतदाताहरुको मत संकलन गर्न कठिन हुनेछ ।’
नेपालको करिव ३९ वटा मुलुकमा मात्रै कुटनीतिक सम्बन्ध रहेकाले अन्य मुलुकमा जाने प्रयोजनका लागि सरकारले सहजीकरण गर्न जरुरी छ । त्यहाँको स्थानीय सरकारको अनुमति लिनुपर्ने, शान्ति सुरक्षाको सुनिश्चितता रहे मात्रै सरकारले दिएको निर्देशन कार्यान्वयन गर्न सकिने आयुक्त भण्डारीले स्पष्ट पारे ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । उनकाअनुसार आजबाट कानूनअनुसार निर्वाचनको अवधि प्रारम्भ भएको छ ।
चार महिना निर्वाचन अवधि हुने कुरा विश्वव्यापी मान्यता रहेको बताए । उनले चार महिनामा निर्वाचन सम्पन्न गराउन आयोगलाई कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे ।
आयोगले मतदाता नामावली संकलानको काम घनिभुत रुपमा गरेको र उत्साहजनक उपस्थिति रहेको दाबी गरे । विदेशमा रहेका मतदाताको मताधिकार सुनिश्चित गर्न अहिले कानूनको अभाव रहेको बताउँदै गृह मन्त्रालयले अध्यादेशका लागि मस्यौदा तयार गरेको जानकारी दिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले महिलाको हक अधिकार सुनिश्चित गर्ने प्रयोजनका लागि कानूनमा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिरहेको बताए । उनले प्रतिशत सुनिीश्चत राजनीतिक दलहरुले गर्नुपर्ने भएकोले पूर्वाग्रह नराखी काम गर्न आग्रह गरिएको बताए । कानूनको छिद्र खोजेर बलमिच्याँई नगरिदिन आग्रह गरे ।


प्रतिक्रिया