काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री नियुक्त गरेर बर्दिबासको पानस होटलमा शपथ खुवाएकी हुन् ।
सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा संघीय समाजवादी र राप्रपालाई समेटेर सानो आकारको मन्त्रिमण्डल गठन भएको छ ।
सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।
उनीहरूको पद तथा गोपनीयताको शपथ पनि भइसकेको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताकाे हैसियतले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।


प्रतिक्रिया