काठमाडौं । मधेस प्रदेशमा नेकपा (एमाले) नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएसँगै मन्त्रिमण्डलमा सामेल हुने मन्त्रीहरूको नाम पनि सार्वजनिक भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै आफ्नो मन्त्रिमण्डलमा तीनजना मन्त्रीलाई समावेश गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवले एमालेबाट लखन दासलाई मन्त्री नियुक्त गरेका छन् । दास एमालेका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी, संघीय समाजवादी पार्टीबाट बिमला अन्सारीले मन्त्रीको जिम्मेवारी पाएकी छिन् । मधेस प्रदेश सभामा एक सिट रहेको संघीय समाजवादी पार्टीका तर्फबाट अन्सारी सरकारमा सहभागी भएकी हुन् ।
यसैगरी, अर्को एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कन्चन बिच्छा मन्त्री नियुक्त भएकी छिन् । राप्रपाको पनि प्रदेश सरकारमा यो पहिलो सहभागिता हो ।
रातारात मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले होटेलमा शपथग्रहण गरेका हुन् । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटेलमा आज बिहान सबेरै शपथ गराएकी थिइन् । त्यही होटलमा बसेर मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आइतबारको मितिमा यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएको थियो । उनलाई आइतबारकै मिति राखेरै आज बिहानीपख नियुक्तिपत्र प्रदान गरिएको जनाइएको छ ।


प्रतिक्रिया