काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशसभाको बैठकबाट मधेशलाई स्वायत्त घोषणा गर्ने गैरसंवैधानिक माग अघि सारेका छन् । मधेशको आफ्नै प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।
राउतले विगतमा मधेसलाई छुट्टै राज्य बनाउने बिखण्डनकारी अभियानको नेतृत्व गरेका थिए । पछि उनले त्यो अभियान त्यागेर मुलधारको राजनीतिमा आएका हुन् ।
राउतले लेखेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ । मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।’
राउतले मधेश प्रदेशसभाको दुई तिहाई सांसदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न मिल्ने तर्क गरेका छन् ।
उनी लेख्छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो ।’


प्रतिक्रिया