मधेस सरकारविरुद्ध ७ दलीय गठबन्धनको आन्दोलन जारी

मधेस सरकारविरुद्ध ७ दलीय गठबन्धनको आन्दोलन जारी

सर्वोच्चको फैसलामा नजर


ग्लोब नेपाल
135
Shares

काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको विषयलाई लिएर उत्पन्न विवाद चर्किएको छ । मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै सात प्रमुख राजनीतिक दलहरूको गठबन्धनले जनकपुरधाममा आइतबार पनि सशक्त विरोध प्रदर्शन जारी राखेको छ ।

मधेस भवनअगाडि धर्नामा बसेका प्रदर्शनकारीहरूले तत्कालिन प्रदेश प्रमुखको कदमको विरोध गर्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गरेका छन् । प्रदर्शनमा सहभागी दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आइतबार उनीहरूले नेपालको राष्ट्रिय झण्डा बोकेर शान्तिपूर्ण धर्ना दिएका थिए ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य भरत साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको स्पष्ट पारे । उनले सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी विषयमा मधेसी जनताको पक्षमा फैसला गर्नेमा आफूहरू विश्वस्त रहेको बताए ।

यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्च अदालतको फैसलालाई आफूहरूले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सर्वोच्चको निर्णयपश्चात् सात दलीय गठबन्धनले आगामी रणनीति र आन्दोलनको स्वरूपबारे छलफल गर्ने जानकारी दिए । मधेस प्रदेशमा सरकार गठन प्रक्रियामा देखिएको असन्तुष्टि र त्यसलाई लिएर अदालतमा विचाराधीन मुद्दाले गर्दा प्रदेशको राजनीतिमा अनिश्चितता छाएको छ । सबैको नजर अब सर्वोच्च अदालतको आगामी फैसलामा केन्द्रित भएको छ ।