दुर्गा प्रसाईं पक्राउपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता

दुर्गा प्रसाईं पक्राउपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ ।

प्रसाईंका समर्थकहरूले उनको पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले सोमबार राति नै मातहतका युनिटहरूलाई विशेष सर्कुलर जारी गरेको छ । प्रहरी अधिकारीका अनुसार, प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका प्रसाईंका गतिविधिले हिंसा भड्काउन सक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रसाईंको पक्राउपछि राजधानीमा हुन सक्ने कुनै पनि अप्रिय घटना वा प्रदर्शनलाई नियन्त्रण गर्नका लागि काठमाडौँ उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले सम्भावित भीड जम्मा हुने स्थानहरू र मुख्य चोकहरूमा निगरानी बढाएको छ । प्रसाईंका समर्थकहरूले सामाजिक सञ्जालमार्फत पक्राउको विरोध र प्रदर्शनका लागि आह्वान गरिरहेका छन् । यसै सन्दर्भमा, प्रहरीले सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्दै कुनै पनि किसिमको प्रदर्शन वा अशान्ति रोक्न पूर्ण तयारीका साथ खटिएको छ ।