एनपीएलमा आज दुई रोमाञ्चक भिड्न्त

एनपीएलमा आज दुई रोमाञ्चक भिड्न्त

पहिलो खेलमा बिहान ११:४५ बजे चितवनविरुद्ध कर्णाली


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज दुई भिडन्तका साथ अगाडि बढ्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सको सामना गर्दैछ । यो खेल बिहान ११:४५ बजे सुरु हुनेछ । दुवै टोली आजको खेलमा विजयी सुरुवात गर्ने दाउमा छन् ।

दिउँसो ४ बजे सुरु हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । युवा स्टार सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्ससँग भिड्दैछ । यो खेल पनि उत्तिकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाजसँग ५ विकेटले स्तब्ध भएको थियो । यस हारले जनकपुरलाई आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न थप दबाब सिर्जना गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलका सबै खेल त्रिवि मैदानमा सञ्चालन गर्नेछ । दर्शकको सुविधाका लागि दिउँसो र राति गरेर खेलहरू आयोजना गरिएको छ । क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ ।

मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कुल ३२ खेलहरू समावेश छन् । शनिबारका लागि साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ । लिग चरणका अन्य दिनका लागि टिकटको मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी, प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ । क्यानले सम्पूर्ण सिजनका खेलहरूका लागि एकमुस्ट १५ हजार रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरेको छ ।

यस संस्करणको एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।