मध्यरातको गिरफ्तारी नागरिक शासनको ठूलो धब्बा : वरिष्ठ अधिवक्ता डा. आचार्य

मध्यरातको गिरफ्तारी नागरिक शासनको ठूलो धब्बा : वरिष्ठ अधिवक्ता डा. आचार्य


ग्लोब नेपाल
108
Shares

काठमाडौं । जब अधिकांश नागरिक निद्रामा थिए, तब मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले नाटकीय रूपमा पक्राउ गर्‍यो । यस घटनाले कानुनी वृत्तमा तरंग ल्याएको छ र अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारबारे गम्भीर प्रश्नहरू खडा गरेको छ ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले मध्यरातमा परिवारसँग रहेका व्यक्तिलाई गिरफ्तार गर्नु कानुनले बर्जित गरेको र यसलाई नागरिक शासनमाथि ‘निकै ठूलो धब्बा’ को संज्ञा दिएका छन् । डा. आचार्यले सामाजिक सञ्जालमार्फत सरकारलाई प्रश्न गरेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ। यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनत: बर्जित कार्य हो। नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’

प्रहरीले प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेको छ र उनीविरुद्ध ४ दिनको म्याद थप गरिएको छ । यो गिरफ्तारीले प्रसाईंका समर्थकहरू र नागरिक बचाउ दललाई आक्रोशित बनाएको छ, जसले सम्भावित प्रदर्शनको चेतावनी दिएका छन्। फलस्वरूप, काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त बनाइएको छ ।