काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा आज दिउँसो २ बजे बस्ने उक्त बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक संरचनाको सुदृढीकरण र भावी रणनीतिका महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल गर्नेछ ।
बैठकको कार्यसूचीमा समसामयिक राजनीति, संवाद र सहकार्यका पहलहरू प्रमुखताका साथ समावेश गरिएको छ । यस क्रममा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाबारे पनि जानकारी गराइने बताइएको छ । यसैगरी, हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गरिने र उक्त बैठकमा प्रस्तुत प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने एजेन्डा पनि तय गरिएको छ ।
रास्वपाले विभिन्न कार्यदलहरूको विस्तार र गठनलाई पनि प्राथमिकतामा राखेको छ । ‘वाचापत्र कार्यदल’ को विस्तार गरिनेछ भने ‘संविधान परिमार्जन कार्यदल’ का लागि संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने बताइएको छ ।
मिडिया व्यवस्थापन र राजनीतिक अध्ययनलाई पनि रास्वपाले विशेष जोड दिएको छ। ‘मिडिया अध्ययन कार्यदल’ गठन गरी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन तथा विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने र आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने व्यवस्था मिलाइनेछ । यसैगरी, ‘राजनीति अध्ययन कार्यदल’ ले विभिन्न राजनीतिक दल, समूह र शक्तिहरूको गतिविधि नियमित अध्ययन तथा विश्लेषण गरी पार्टी नेतृत्वलाई जानकारी गराउनेछ ।


प्रतिक्रिया